आज मातातीर्थ औँसी: यस्तो छ मातातीर्थको इतिहास 

1.

आमाको स्मरण र आमाप्रति श्रद्धा सुमन व्यक्त गर्दै आज देशभर मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण औंसीको दिन मनाइने उक्त पर्व आमा र सन्तान बिचको सम्बन्धको एक प्रतिक हो।  

प्राचिन काल देखि यो पर्व विशेष संस्कार अनुसार मनाउने गरिएको छ।  आजको दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्दछन् । यता आज उपत्यकाका नेवा समुदायले भने भक्तपुरको हनुमान घाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्ने गर्दछन ।


यस्तै यस वर्ष बिहिबार परेको औंसी पर्वको दिन बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । साथै आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्ने गर्दछन । 

यस्तैगरि विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्ने गर्दछन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने दिने गर्छन् । 

पछिल्लो समयमा बढ्दो सूचना प्रविधिको विकासले सामाजिक सञ्जालमा मातातीर्थ औसी मनाउने तरिका फरक रहेको छ । आमाको मुख हेर्ने दिन भनेर आजको दिन समाजिक संजालमा तस्बिर साझा गर्दै शुभकामना तथा आमाप्रतिको सम्मान व्यक्त गरिने गरिन्छ । यस्तै मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । 

माता तिर्थको आफ्नै इतिहास 
पहिले माता तीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । 

ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए । गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेक मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइएको हो ।

 यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन स्थापित भएको बताइन्छ  । साथै आमाप्रतिको श्रद्धा स्वरूप माता तीर्थमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरिएको छ । यसरी पौराणिककाल देखिनै थानकोटको माता तिर्थमा आमाको मुख हेर्ने पर्वलाई विशेष महत्वका साथ् मनाउन थालिएको हो।  

मातृदेवो भव  
‘आमा’ यस्तो आदरार्थी शब्द हो, जसको उच्चाहरण गर्दा पनि सबैको हृदय पग्लिन्छ । आमा, जसलाई परिवारको मियो भन्न सकिन्छ । समग्र परिवार आमाकै सेरोफेरोमा घुम्छ । यसर्थ यो दिनलाई आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा आमाको मुख हेर्ने दिन भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, "मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।" अर्थात आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्। यस्तै शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन समेत हो।  

आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिएको समेत पाइन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ-आशीर्वाद ग्रहण गर्ने नेपाली प्रचलन रहीआएको छ।