उदीयमान युवा कवि  एसडीको ‘दोधार’ कवितासंग्रह र ‘आँसु लुकाऊँ कसरी’ गीत सार्वजनिक

 उदीयमान युवा कवि  एसडीको ‘दोधार’ कवितासंग्रह र ‘आँसु लुकाऊँ कसरी’ गीत सार्वजनिक


काठमाडौं ।  उदीयमान युवा कवि एसडी (डा.ई. शंकर ढकाल) को “दोधार” कविता संग्रहभित्रको एउटा सिर्जना “आँशु लुकाऊँ कसरी” बोलको गीत गत शुक्रबार सार्वजनिक भएको छ । जसमा नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारको सुमधुर स्वर सजिएको छ ।

शुक्रबार दुवै कृति (“दोधार” र “आँशु लुकाऊँ कसरी”) को विमोचन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा वरिष्ठ कवि प्रा. तुलसी दिवसको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरिएको हो ।

गीतमा शब्द रचना तथा कन्सेप्ट कवि ढकालको नै रहेको छ भने संगीत संयोजन कर्ण सञ्यालले गरेका हुन् । केशव बडुको एरेन्ज रहेको यस गीतको छायांकन तथा निर्देशन देव राज आचार्यले गरेका छन् ।

भिडियोमा मोडल डा. ढकाल र मिस टिन युनिभर्स नेपाल, २०२१ श्रीयंका थापा (कवि सिन्दूरको रूपमा) को अभिनय रहेको छ । साथै बाल कलाकार अध्यात्मिक ढकाल र अन्य कलाकार कर्ण सञ्ज्याल, निर्मला ढकाल आदिको पनि अभिनय रहेको छ ।

गीतको भिडियो सम्पादन हिम्मत सिंह चैसिरले गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई Dr. Eng. Shanker Dhakal  नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ

‘”कवि एसडी” र “कवि सिन्दुर” बीचको प्रगाढ प्रेम र बिछोड पछिका देखाउन सकिनँ, नसकिने गतिविधि, रोदन र समग्र जिन्दगीका अवयवमा आधारित भएर गीतको भिडियो छायांकन गरिएको हो,’ ढकालले बताए । प्रकाशित “दोधार” पुस्तकमा समाज रूपान्तरण र माया प्रेम अनि विछोड बाहेक इन्जिनियरिङसँग सम्बन्धित पनि धेरै कविता रहेको ढकालले बताए ।

विशिष्ट अतिथिमा सांसद तथा युवा कवि डा. तोशिमा कार्की, एनआरएन अभियानका दूरदर्शी प्राज्ञ भीम उदास, नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल, नास्टका पूर्व उपकुलपति तथा जुआनका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठलगायत थिए ।

इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस अन्तर्गतको सेस नेपाल र लेखन कुञ्जसिमल पब्लिकेसन्समा संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा उपस्थित हुने सबै सहभागीहरूलाई डा. ढकालले विशेष धन्यवाद दिएका थिए ।