काठमाडौंका विकासका ८ खम्बे योजना

काठमाडौंका विकासका ८ खम्बे योजना

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सुनिता डंगोलले ८ खम्बे विकास मोडेल सार्वजनिक गरेकी छन् । आगामी चुनावका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै डंगोलले ८ खम्बे विकास मोडेल सार्वजनिक गरेकी हुन् ।

सन् २०११ मा मिस नेवा समेत बनेकी डंगोलले काठमाडौंलाई सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउनका लागि विभिन्न प्रतिबद्धता जनाएकी छिन् । उनले आफ्नो ८ खम्बे विकास मोडेलमा 'स्वच्छ वातावरण, यातायात व्यवस्थापन,राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद,रोजगारी तथा उद्यमशीलता, रिसर्च एन्ड डिभलपमेन्ट'लाई समेटेकी छिन् ।

त्यस्तै डंगोलले काठमाडौंको विकासका लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनासमेत सार्वजनिक गरेकी छिन् । उनका योजनामा काठमाडौं महानगरपालिकाका विभिन्न स्थानहरूमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्नेदेखि आवश्यक पूर्वाधार मर्मत सम्भारका लागि र्‍यापिड टास्क फोर्स गठन गर्नेसम्म रहेका छन् । त्यस्तै काठमाडौंलाई २४सै घण्टा खुला राखी जीवन्त सहरका रूपमा विकास गरिने पनि उनको प्रतिबद्धता रहेको छ । त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक ३० हजार रुपैयाँ महानगरले दिने व्यवस्था मिलाउने पनि डंगोलको योजना छ । त्यस्तै काठमाडौंका विभिन्न ठाउँमा मेट्रो सिटी हल र प्रदूषण बढाउने पेट्रोल डिजेलका गाडी विस्थापन गरिने पनि उनको योजनामा उल्लेख छ ।

त्यस्तै दीर्घकालीन योजनाअन्तर्गत 'मेरो सहर म सफा राख्छु', समाजमा पिछडिएका तथा निम्न आय भएका व्यक्तिहरूका लागि सामुदायिक आवास बनाउने कार्यक्रम रहेको छ ।