फेरि विश्वका प्रमुख १० प्रदूषित सहरभित्र पर्यो काठमाडौं

फेरि विश्वका प्रमुख १० प्रदूषित सहरभित्र पर्यो काठमाडौं

काठमाडौँ विश्वका प्रमुख १० प्रदूषित सहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित सहर बनेको छ ।

त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी सहर बनेको छ ।

वायुको गणस्तर मापनका आधारमा यस्तो सूची सार्वजनिक गर्ने आईक्युएयरका अनुसार मंगलबार काठमाडौं विश्वकै प्रदूषित सहरको छैठौं स्थानमा थियो । स्विट्जरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार अहिले काठमाडौंको वायुको गुणस्तर ‘अस्वस्थकर’ स्तरमा छ ।

केही दिनदेखि काठमाडौं उपत्यकाको वायुमण्डल सफा छैन । बिहान तुवाँलोले वायुमण्डल ढाकिरहेको छ । आँखा पिरो हुने, चिलाउने र नाक पोल्ने अनुभव हुन थालेको छ । गत वर्ष  सरकारले प्रदूषण बढेपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय नै लिनु परेको थियो । पोलुनस डट जीओभी डट एनपीका अनुसार बुधबार कीर्तिपुर क्षेत्रको वायुमण्डल बढी प्रदूषित छ । पोखरा, सिमारा, भरतपुर, धनकुटा र नेपालगञ्ज क्षेत्रको वायु पनि प्रदूषित अवस्थामा पुगेको छ ।