गठबन्धनका विरुद्ध लागे कांग्रेसलाई सडकमा पुर्‍याउँछौं : नेता पुन

गठबन्धनका विरुद्ध लागे कांग्रेसलाई सडकमा पुर्‍याउँछौं :  नेता पुन

पाँच वर्षका लागि सडकमा पछारिएको कांग्रेसलाई आफूहरुले सत्तामा पुर्‍याएको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले बताएका छन्। आफूहरुले बुई चढाएर सडकबाट सत्तामा पुर्‍याएको कांग्रेसका केही नेतामा उन्माद देखिएको भन्दै पुनले आक्रोश व्यक्त गरेका छन्।

माओवादी केन्द्र र सत्ता गठबन्धन आवद्ध अन्य दललाई सार्वजनिक टिप्पणीमार्फत हेप्न र अपमान नगर्न उनले चेतावनीसमेत दिएका छन्। सत्तामा रहेकालाई सडकमा र सडकमा रहेकालाई सत्तामा पु¥याउने हैसियत आफूहरुको रहेकाले विचार गरेर बोल्न पुनले आग्रह गरे।

केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न पुनले कांग्रेस नेतालाई सुझाए। ‘सत्ता उन्मादले केपी केपी ओली प्रतिगमनको नाइके हुनुभयो । पटकपटक संसद विघटन गर्नुभयो ,’ उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाई विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ।’ उनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी उनले गरे । 

स्थानीय तह र संघीयताका लागि माओवादी लडेको चर्चा गर्दै पुनले त्यसको नेतृत्व गर्न पनि माओवादी सक्षम साबित भएको दाबी गरे। वित्त आयोगको प्रतिवेदनले कार्यसम्पादनका आधारमा देशभरका पाँच उत्कृष्ट पालिकामध्ये पहिलो, तेस्रो र पाँचौं माओवादीले नेतृत्व गरेका स्थानीय तह भएको औल्याएको भन्दै पुनले माओवादी जनप्रतिनिधिले जनताका पक्षमा काम गरेको बताए।