टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन : पूर्वअर्थमन्त्री पोडेल

काठमाडौ, १६ असोज । मुलुकको अर्थतन्त्रको अवस्था चिन्ताजनक रहेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । आज अर्थ समितिको बैठकमा उनले नागरिकहरु पनि मुलुकको अर्थतन्त्रप्रति चिन्तित देखिएको भन्दै यस विषयमा सबै जनाको उपस्थितिमा खुल्ला छलफल हुनु आवश्यक भएको उल्लेख गरे ।

उनले भने, ‘अर्थतन्त्रको अवस्था चिन्ताजनक छ । आम नागरिक पनि मुलुकको अर्थतन्त्रबाट चिन्तित छन् । अहिले हामी सामान्य अवस्थामा छैनौ, टालटुल गरेर मुलुकको अर्थतन्त्र सम्हाल्न सकिदैँन । त्यसकारण अवस्था कस्तो छ र समाधानका लागि के प्रयासहरु भइरहेका छन् भन्ने विषयमा जानकारी राख्ने अधिकार नागरिकलाई पनि छ । सबै जनाको उपस्थितिमा बैठकमा खुल्ला छलफल गर्नु आवश्यक छ ।’

उनले मन्त्रीसँग सोध्ने प्रश्न सचिवहरुलाई भनेर काम नचल्ने र आवश्यक जवाफ पनि आउन नसक्ने भन्दै अर्थमन्त्रीको यो बैठकभन्दा महत्वपूर्ण काम के पर्यो भन्दै प्रश्न गरे ।

उनले भने, ‘अर्थ मन्त्रीलाई समितिमा बोलाए पनि अझसम्म उपस्थिति भएको छैन । यो मिलेन । मन्त्री आउनुहुन्छ भन्ने जानकारीका साथ मन्त्रीको उपस्थितिमा हामी छलफल गर्न पाउँछौ, सवालजवाफ गर्न पाउँछौ । हाम्रो कुराहरु पनि राख्न पाउँछौ त्यसबाट समस्या के हो समाधानका बारेमा अर्थ मन्त्रालयले कसरी सोचिरहेको छ भन्नेबारे जानकारी पाउन सक्छौ भन्ने अपेक्षा हो । मन्त्री निरन्तर दोस्रो पटक उपस्थिति हुनु भएको छैन् । यो उचित भएन ।’

नेपालको अर्थतन्त्रलाई गहिरो गरी अवलोकन गरेर अर्थविदहरुको उपस्थितिमा अर्थतन्त्रका समस्याहरुमा केन्द्रीत भएर छलफल गर्ने र समाधानमा अगाडि बढ्न आवश्यक भएको पौडेलले बताए ।