आफ्नै साथीको टाउको छिनाएर रातभर लागू औषध सेवन गर्ने चारै जना प्रहरी नियन्त्रणमा 

आफ्नै साथीको टाउको छिनाएर रातभर लागू औषध सेवन गर्ने चारै जना प्रहरी नियन्त्रणमा 

कैलालीको जानकी गाउँपालिकाका अर्जुन दासको हत्याका अभियुक्तहरुलाई प्रहरीले नेपाल भारत सीमाबाट पक्रेको छ। गत पुस ३ गते जानकी गाउँपालिका वडा नं ९ स्थित अमरावती सामुदायिक वनमा २५ वर्षीय अर्जुन दासको हत्या गरिएको थियो। घटनाको ४ महिनापछि महानगरीय अपराध महाशाखाको टोलीले हत्याका मुख्य आरोपी सहित ४ जनालाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार मोबाइल चोरी गरेको आरोपमा दासलाई उनकै साथीले हत्या गरेको खुलेको छ। प्रहरीले जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहरा उर्फ बमे र रोन परियार उर्फ दिलीप दासलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

घटनापछि उनीहरु भारतमा फरार भएका थिए र सामाजिक सञ्जाल मार्फत् धम्की दिँदै आएका थिए। उनीहरूलाई कैलाली ल्याउनका लागि समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

प्रहरीका अनुसार माघ २९ गते आफ्नो मोबाइल हराएपछि कमल साउदले सुमित साउदमाथि शंका गरेका थिए। त्यसपछि उनले सुमितलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। सुमित कुटिएपछि मनोज भण्डारी र बमबहादुर बोहराले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागू औषध चोरी गरेर जंगलमा लुकाएका थिए। पछि कमल साउदको मोबाइल अर्जुन दासले चोरेको पत्ता लगाइ सुमित साउदले मोबाइल कमललाई फिर्ता गरे। र, अर्जुनलाई कुटपिट गर्ने योजना बनाएको प्रहरीले जनाएको छ।

कमलको मोबाइल चोरी गर्ने र सुमितलाई कुटपिट गरेको घटनाका मुख्य दोषी अर्जुन दासलाई देखाएर मनोजसहित उनको टोलीका सदस्य सुमित, बम बहादुर बोहरा, सुशील मयाल, दिलीप दास, बादल वि।क। र करण दर्नालले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाए।

पुस २ गते बेलुका ६ बजे अर्जुन र उनलाई कुटपिट गर्ने योजना बनाएको समूह लागु औषध सेवन गर्न अमरावती सामुदायिक वनमा भेला भए। सबै जनाले लागु औषधको सेवन गरिसकेपछि अर्जुन दासलाई मिलेर कुटे। उनलाई हातखुट्टा बाँधेर राखे। त्यसको करिब ५ घण्टा पछि उनीहरूले अर्जुनको हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। सबैजनाको योजना अनुसार सुशील मयालले उनीहरूलाई खुकुरी उपलब्ध गराएर घर फर्किए। राति ११ बजे मनोज भण्डारी लगायतको समूहले अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रहार गरेको प्रहरीको दावी छ। उनको टाउको छिनाएर शरीरभन्दा २ फिट टाढा राख्दै सबैजना फेरि लागु औषध सेवन गर्न थाले। यसरी उनीहरु रातभरी घटनास्थलमा नै बसेको प्रहरी अनुसन्धानमा खुलेको छ।