चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

जाजरकोट नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन्। चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार वैशाख ४ गते जाजरकोटको नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात (ब्लुबुक) नभएको लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल ल्याएर पार्किङ गरिराखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटको प्रहरी टोलीले उक्त मोटरसाइकल कानुनबमोजिम रीतपूर्वक बरामद गरेको थियो। 

उक्त मोटरसाइकल ल्याउने मानिसबारे अनुसन्धान गर्दै जाँदा नलगाड नगरपालिका वडा नम्बर १ का अध्यक्ष हिरालाल पुन रहेको प्रहरीले पत्ता लगाएको थियो। यसपछि प्रहरीले खोजतलास गरेर वैशाख ६ गते पुनलाई पक्राउ गरेको हो। चोरीको आरोप लागेका पुनलाई जाजरकोट जिल्ला अदालतले ७ दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको छ।

वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाइरहेका भए पनि उनीसँग उक्त मोटरसाइकलको स्वामित्व प्रमाणित गर्ने ब्लुबुकलगायत कुनै कागजपत्र थिएनन्। वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै सोधपुछ गरेको थिएन।