भारतसँग ३० वटा राँगा किन्दै सरकार !

भारतसँग ३० वटा राँगा किन्दै सरकार !

गाईको नश्ल सुधारका लागि अमेरिकाबाट साँढे खरिद गरेको नेपाल सरकारले अब भैंसीको नश्ल सुधारका लागि भारतबाट राँगा खरिद गर्दैछ ।राष्ट्रिय प्रजनन पशु केन्द्र लहान, पोखरा र नेपालगञ्जका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतसँग ३० वटा राँगा खरिद गर्न लागेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा.नबिन घिमिरेले नेपालका भैंसीहरूको नश्ल सुधारका लागि भारतबाट राँगा खरिद गर्न लागिएको बताए।

'खरिद गरिने राँगाको विर्यबाट हाम्रा भैंसीमा कृत्रिम गर्भाधान गराएर पाडापाडीको नश्ल सुधार गर्न लागेका हौं,' घिमिरेले लोकान्तरसँग भने, 'तौलको आधारमा न्युनतम यति किलोग्रामको भनेर आउने कुरा भएको छ । उताबाट टेक्निकल स्पेसिफिकेसन नआएकाले प्रतिराँगो कति मूल्य पर्छ भन्ने पक्का भएको छैन ।'

राँगा किन्ने प्रस्ताव दुई वर्षअगाडि नै नेपाल सरकारले भारत सरकारसमक्ष राखेको थियो। तर त्यतिबेला भारतले अन्य देशमा पशु निर्यात गर्न नसक्ने नीति रहेका कारण प्रक्रिया अगाडि बढेको थिएन। 'नेपालमा राँगाको ब्रिड उत्पादनमा सर्टेज भएपछि २ वर्ष अगाडि नेपाल र भारतको एग्रिकल्चरल ज्वाइन्ट ग्रुपको छलफलमा मैले नै कुरा उठाएको थिएँ, ' उनले थपे, 'भारतको पोलिसीमा दिन मिल्दैन भनेर लेखिएको हुनाले त्यतिबेला आयात गर्न सकिएन ।'

'अहिले आएर भारत सरकारले नेपालको ब्रिडिङ सेन्टरमै राख्नेगरी दुईवटा पार्टीहरूसँग सम्पर्क गर्नू भनेर लेखेको पत्र भारतीय राजदूतावास मार्फत हामीलाई प्राप्त भएको छ,' घिमिरेले भने, 'दूतावासमार्फत पत्र प्राप्त भएपछि कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत टेक्निकल स्पेसिफिकेसनसहित खरिद गर्दा हामीलाई कति पैसा लाग्ने हो भन्ने समेतको विवरण उपलब्ध गराउन भारत सरकारलाई पत्र लेखेका छौं।'

भारतको निजी क्षेत्रमा सञ्चालित एक भैंसी फार्म र अर्को ब्रिड सप्लाइ गर्ने सप्लायरसँग सम्पर्क गर्न भारतीय पक्षले नेपाल सरकारलाई भनेको छ।  'भर्खर मात्र प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि छलफल गर्नुभएको थियो। उहाँहरूले त्यसमा सकारात्मक छौं भनेर जवाफ दिनुभएको छ,' उनले भने, 'अब त्यो सकारात्मकताले कहिले रिजल्ट दिने हो ठ्याक्कै भन्न सकिन्न ।'

दुई वर्षअघि नै राँगा किन्ने भनेर कृषि मन्त्रालयले टिप्पणी उठाएर निर्णय गरी भारतीय पक्षलाई पत्र पठाएको थियो । भारतीय पक्षबाट स्वीकृति प्राप्त भएपछि प्रक्रिया अगाडि बढेको हो । प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि मन्त्री महिन्द्र राय यादव पनि सँगै गएकाले उक्त विषय नेपाल सरकारको प्राथमिकतामा परेर छलफल गरिएको थियो । त्यसपछि नेपाललाई ब्रिड उत्पादनका लागि राँगा दिने भन्ने कुरा नेपाल र भारत सरकारबीच भएको ज्वाइन्ट अग्रिमेन्टमा पनि परेको उनले बताए।

यसअघि नेपाल सरकारले अमेरिकाबाट १ करोड २६ लाख रुपैयाँमा उन्नत नश्लका ७ वटा साँढे किन्ने भनेर सम्झौता गरेको थियो। जसमध्ये ल्याउँदा बाटोमा नै एउटा साँढेको मृत्यु भएको थियो । 'हामीले अहिलेसम्म साँढे बुझिसकेका छैनौं, हामीले प्राप्त गर्ने संख्याको आधारमा मात्र भुक्तानी हुन्छ,' घिमिरेले लोकान्तरसँग भने, 'आपूर्तिकर्ताले ल्याउँदा बाटोमा नै एउटा साँढे मरे पनि हामीले प्राप्त गर्ने संख्याको आधारमा नै भुक्तानी गर्छौं।'

व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट पाँचवटा जर्सी र दुईवटा होलिस्टिन साँढे खरिद गर्ने सम्झौता गरिएको थियो। ती साँढेमध्ये एक साँढेको मृत्यु भएको छ भने ६ वटा साँढे पोखराको लाम्पाटनमा रहेको राष्ट्रिय प्रजनन केन्द्रमा राखिएको छ। ती साँढेहरू ल्याउन सरकारले मेट ग्रुपसँग सम्झौता गरेको थियो भने ढुवानीका लागि क्विक फ्रेट लजिस्टिक कम्पनीले सहयोग गरेको थियो।

विगतमा अमेरिकाबाट प्रजनन क्षमता भएका सिमेनहरू पनि खरिद गरिएको थियो। राम्रो क्याटल फर्ममा मात्र लगाउने भनेर सिमेन खरिद गरिएको थियो। त्यसैगरी विभिन्न समयमा विभिन्न देशबाट इम्ब्रियो पनि खरिद गरिएको थियो।