सरकारलाई अहिले गाली गर्दिनँ, देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

सरकारलाई अहिले गाली गर्दिनँ, देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संकट परेका बेला सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् । बुधवार सम्पादकहरूसँगको अन्तरक्रियामा ‘प्रचण्डले अहिलेको संकटमा पनि सरकार, प्रतिपक्ष, मिडिया र नागरिकहरू सँगै मिलेर सामना गर्नुपर्ने बताए । उनले अप्ठ्यारो परिस्थितिमा सरकारलाई गाली गर्ने नभई सजग रूपमा सबै मिलेर सामना गर्ने नेपाली परम्परा भएको बताए ।

उनले भने, ‘जतिबेला जनता सङ्कटमा छन् त्यतिबेला सबै सरकार प्रतिपक्ष मिडिया सबै मिलेर त्यसको सामना गर्ने परम्परा छ । अहिले पनि त्यही मनसायका साथ संकटको सामना गर्नुपर्छ । अझै पनि खोजकार्य बाँकी नै छ । खोजी उद्धार राहतको काममा लाग्ने । पुनर्निर्माण र पुनर्स्थापनाको चुनौती छ ।’

उनले अहिले सरकारलाई गाली गर्ने नभई मिलेर राहत, उद्धार र पुनर्निर्माणमा खटिनुपर्ने बेला आएको बताए । आफू पनि सरकारलाई गाली गर्ने पक्षमा नरहेको उल्लेख गर्दै ‘प्रचण्ड’ले अवस्था भने जटिल रहेको बताए ।

देशमा भूराजनीतिक रूपमा मात्रै समस्या आएको नभई भौगोलिक बनावटले पनि संकट निम्त्याइरहेको ‘प्रचण्ड’को भनाई थियो । यस्तै ‘प्रचण्ड’ले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताए । विगतमा आफ्नै सक्रियतामा भएको संविधान संशोधनले मधेशी दल र जनतालाई चुनावमा सामेल गर्न सम्भव भएको ‘प्रचण्ड’को भनाई छ ।