विरगञ्ज महानगरमा जसपाकै मेयर हुन्छः अध्यक्ष यादव

विरगञ्ज महानगरमा जसपाकै मेयर हुन्छः  अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले विरगञ्ज महानगरपालिकाको मेयरमा गठबन्धनबाट जसपाकै उम्मेदवार हुने बताएका छन् । अध्यक्ष यादवले स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता मिति अगाडि गठबन्धनका उम्मेदवार तय हुने बताएका छन् ।यादवले विरगञ्जमा यसअघी पनि जसपाले नै जितेको हुनाले स्वभाविक रुपमा जसपाकै उम्मेदवार हुने बताएका हुन् । 

‘हरेक पार्टीले आ–आफ्नो प्रभाव क्षेत्रमा दाबी गर्ने हो’, अध्यक्ष यादवले भने– ‘विरगन्ज महानगर जसपाले माग्नै पर्दैन, जसपाले पहिले पनि जितेको हो, अब पनि जित्छ ।’ एक फरक प्रसंगमा यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग स्थानीय तहको निर्वाचनमा सहकार्यको सम्भावना नटरेको समेत बताएका छन् । लोसपाका नेताहरुले अरुको कुरा सुनेर अरुको हितका लागि आफैंलाई बर्बाद पारेको भन्दै यादवले लोसपासंग सहकार्य गर्दै गर्दैनौं भनी आफुहरुले नभनेको बताए ।

उनले प्रतिगमनकारी पार्टीको संगत छोडे लोसपासंग तालमेल हुनसक्ने बताए । अहिलेको गठबन्धन प्रतिगमनकारी र गैरलोकतान्त्रिक शक्तिविरुद्ध भएको उनले बताए । यादवले नेत्रविक्रम चन्द समूहलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे । लोकतन्त्रको माध्यम निर्वाचन नै भएको बताउँदै नेत्रविक्रम चन्द्रसँग पनि लोकतान्त्रिक प्रणालीमा आउनुबाहेकको विकल्प नरहेको उनले बताए ।

यादवले गभर्नरमाथि कारबाही गरेर अर्थतन्त्र नसुध्रिने पनि बताए । नेकपा एमाले सरकारमा हुँदैखेरि भयंकर आर्थिक संकट आउँदै छ भनिएको जिकिर गर्दै आर्थिक संकटले राजनीतिक संकट पनि निम्त्याउने भएकोले अर्थतन्त्र सुधार्न बुद्धि र विवेक कदम चाल्नुपर्ने बताए ।