बालकको मृत्युको विषयलाई लिएर वीपी राजमार्ग अवरुद्ध

बालकको मृत्युको विषयलाई लिएर वीपी राजमार्ग अवरुद्ध

बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ । पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन् ।

दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्तिको माग गर्दै आज (आइतबार) बिहानैदेखि राजमार्ग बन्द गराएका हुन् । स्थानीयको अवरोधका कारण सयौं सवारी साधन कमलामाई क्षेत्रमा रोकिएका छन् । पीडित पक्षसँग छलफल गरी राजमार्ग खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीय ग्वाङखोलदामा पक्की पुल निर्माणका लागि खनेर छाडिएको खाल्डोको पानीमा डुबेर फिक्कल गाउँपालिका–१ घर भएका १२ वर्षीय श्रृयास भुजेलको हिजो (शनिबार) मृत्यु भएको थियो । स्थानीयले खाल्डो खनेर छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति माग गरेका छन् ।