आगलागीमा जलेर ११ घर नष्ट

आगलागीमा जलेर ११ घर नष्ट

रामेछाप नगरपालिका ७ मा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको छ। शनिबार दिउँसो विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार एकैछिनमा फैलिएको आगोले ११ घरसहित अन्य ११ वटा गोठ पनि जलेको छ।

श्रेष्ठको घरमा लागेको आगो हावाहुरीका कारण नजिकका छिमेकी चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ, दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शंकर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठको घरमा पनि फैलिएको थियो। 

आगो नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा करिब ५ घण्टामा नियन्त्रणमा आएको थियो। आगलागीका कारण घरमा भएका सम्पूर्ण सामानसहित गोठमा रहेका केही पशुचौपाया पनि जलेका छन्। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। घरमा लागेको आगो नजिकैको जंगलमा पनि फैलिएको छ। जंगलको आगो भने समाचार तयार पार्दासम्म नियन्त्रणमा आएको छैन। 

आगलागी पीडितलाई अस्थायी टहरा बनाएर राखिएको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले जानकारी दिए। तत्काललाई नेपाली सेना र रामेछाप नगरपालिकाले पीडितलाई खाद्यान्न र लत्ताकपडाको व्यवस्थापन गरेको छ।