आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज  : मन्त्री गुरुङ

आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज  : मन्त्री गुरुङ

काठमाडौं । कृषि क्षेत्रबाटै देशको आर्थिक विकास हुने सहरी विकासमन्त्री सीता गुरुङले बताएकी छिन् । आर्थिक विकास र संमृद्धिका लागि व्यवसायिक कृषिको बाटो सहज हुने बताएकी हुन् । उनले मुलुकको ठूलो जनसंख्या आजपनि कृषि पेशामा आश्रित रहेको भन्दै कृषिबाटै देश समृद्ध हुने बताइन् ।

आज गृह जिल्ला तेह्रथुमको आठराई गाउँपालिका–४ मा निर्माण हुन लागेको कोल्ड स्टोर भवन शिलान्यास गर्दै मन्त्री गुरुङले गाउँमा किसानले उत्पादन गरेको कृषिउपजलाई समयाअनुकुल बजारमा पु¥याउन सके राम्रो आर्थिक लाभ हुनसक्ने बताइन् ।

सहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले पाँच करोड रुपैयाँ लागतमा चिस्यान केन्द्र भवन बनाउन लागेको हो । भवन निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा दुई करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘यो बहुवर्षे योजना हो । अहिले २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ,’ मन्त्री गुरुङले भनिन्, ‘समग्रमा यो चिस्यान केन्द्रका लागि ५ करोड रुपैयाँको भवन बन्नेछ ।’ उनले भवन बनेपछि गाउँमा उत्पादन भएको अदुवा, अलैँची, तरकारी र फलफुललगायत कृषि उपजलाई चिस्यान केन्द्रमा भण्डारण गरेर बजारसम्म पु¥याउन सजिलो हुने अपेक्षा गरिएको बताइन् ।

‘चुनावको बेला छवटै पालिकामा चिस्यान केन्द्रमा बनाउनुपर्ने तपाईहरुको माग थियो, त्यहीअनुसार कम्तिमा एउटा पालिकामा एउटा चिस्यान केन्द्र बनाऔँ भनेर मैले पहल गरेको छु,’ उनले भनिन् ।

सरकारले देशैभररी व्यवसायिक कृषि उपजलाई जोड दिएर नीति तथा कार्यक्रम बनाएको भन्दै मन्त्री गुरुङले जमीन बाँझो नराख्न र उत्पादनमा जोड दिन आग्रह गरिन् । चिस्यान केन्द्र निर्माणका लागि स्थानीय तेजकुमार ईङनामले दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।