आर्थिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेका छन्ःशंकर पोखरेल

आर्थिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेका छन्ःशंकर पोखरेल


काठमाडौं, ४ जेठ । सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्यहीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रुपमा प्रस्तुत भएको र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आएको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले पपुलिष्टहरुबाट समाजको रुपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन नसक्ने दाबी गरेका छन् । । उनले लेखेका छन्, ‘उनीहरुबाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।’

क्रान्ति र समाज परिवर्तनको नियम अनुसार राजनीतिक अघि बढ्न नसक्दा नै समाजमा अस्थिरता, द्वन्द्व र निरासा उत्पन्न भएको र समाज सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख रहेको महासचिव पोखरेलको आरोप छ ।महासचिव पोखरेलले आमरुपमा राज्य, संगठित शक्तिहरु र अख्तियारप्राप्त व्यक्तिहरु प्रतिको अविश्वास,निरासा र घृणा त्यसकै उपज रहेको पनि बताएका छन् ।

महासचिव पोखरेलले देशमा कायम रहेको राजनीतिक अस्थिरता र आर्थिक–सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु निकै सल्बलाइरहेको भन्दै पोखरेलले त्यसप्रति चनाखो हुनु पर्ने बताएका छन् ।