उपनिर्वाचनको लागि आज राति १२ बजेबाट निषेध अवधि सुरु हुने 

1.

आसन्न उपनिर्वाचन आउन अब ३ दिन बाँकी रहेको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको उपनिर्वाचन तालिका अनुसार आज राति १२ बजे देखि प्रचारप्रसार निषेधको अवधि सुरु हुने छ।  


बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा निषेधावधि सरु भएको हो। 

आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउनको लागि आवश्यक व्यवस्था मिलाउन बारा, तनहुँ र चितवन जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको थियो 

सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

यस्तै उक्त आचारसंहिता अनुसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न प्रतिबन्ध गरिएको छ।