एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरिएको छ : मन्त्री आचार्य

एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरिएको छ : मन्त्री आचार्य


काठमाडौं, १० असार । एक सय स्थानीय तहमा महिला उद्यमशीलता कार्यक्रम विस्तार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जानकारी दिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले मन्त्रालयका कार्यक्षेत्रमा स्थानीय तहसँगको समन्वय बढाइने बताएका छन् ।

मन्त्री आचार्यले स्थानीय तहसँगको सहकार्यमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण गर्ने योजना रहेको पनि जानकारी दिएका छन् । मानव विकास सूचकाङ्कमा पछाडि परेका स्थानीय तहका विपन्न र एक महिलालाई सीप क्षमतावृद्धि गरिने तयारी रहेको उनको भनाइ छ ।

मन्त्रालयका लागि आगामी आर्थिक वर्षका रु एक अर्ब ७५ करोड रकम विनियोजन गरिएको छ । मन्त्री आचार्यले घरेलु कामको मूल्य निर्धारणका लागि अध्ययन अनुसन्धान कार्य भइरहेको र चार मन्त्रालयका कार्यको लैङ्गिक परीक्षण (जेण्डर एडिट) गर्ने, महिला र बालबालिकामाथि विद्युतीयरुपमा हुन सक्ने हिंसा रोक्ने र बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तय गर्ने कार्य भइरहेको जनाएका छन् ।

उनले बेवारिसे र जोखिममा परेका बालालिकाको खोजी, उद्धार र संरक्षणका लागि काम भइरहेको, राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रमअन्र्तगत हालसम्म पाँच सय ३६ जनाको उद्धार भएको र काठमाडौँको गोठाटारमा एक सय ६५ शय्याको ज्येष्ठ नागरिक अस्पताल निर्माण भइरहेको अवगत गराएका छन् ।