एसईईको परिक्षा आजदेखि सकियो, अब कहिले आउँछ त रिजल्ट?

1.

यस वर्ष २०७९ सालको एसईईको परिक्षा आजदेखि सम्पन्न भएको छ। देशैभर यही चैत १७ गते देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परिक्षा छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।  

यस वर्ष जापानमा समेत तोकिएको एसईई परिक्षा केन्द्र सहित नेपालमा ७७ जिल्ला गरि २ हजार ३७ वटा केन्द्रको परिक्षा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले बताए।  उनले भने, 'छिटपुट घटनाबाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ। घटना भएका केन्द्रका केहीलाई कानुनी दायरामा ल्याएका छौँ।' 

यस्तै यस वर्ष जम्मा एसईई दिएका विद्यार्थीहरु  ४ लाख ८४ हजार २ सय २७ जना रहेका थिए।  जसमा नेपालबाट रोजगारीका लागि जापान पुगेका  १४ जनाले जापानबाटै परीक्षा दिएका थिए। उनीहरुले जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट परिक्षा दिएका थिए।  

परिक्षा दिनेको संख्याको आधारमा सबैभन्दा बढी बागमती प्रदेशबाट एसईई परिक्षा दिने विद्यार्थीहरु थिए। बागमती प्रदेशबाट मात्रै १ लाख ६ हजार ९ सय ५९ विद्यार्थी एसईई दिएका हुन्। यस्तै कर्णाली प्रदेशबाट ४१ हजार ३ सय २९ परीक्षार्थी सहभागी थिए जुन सबैभन्दा थोरै हो।  

एसइईका परीक्षा नियन्त्रक श्रेष्ठको अनुसार ५० जना दृष्टिविहीन परीक्षार्थी, करिब १५ हजार प्राविधिक धारतर्फका, ६५ संस्कृत विद्यालयका २ हजार ९ सय ८२ जना रहेका थिए। माध्यमिक शिक्षा परिषदले आउँदो असारको तेस्रो हप्तामा एसईईको नतिजा प्रकाशन गर्ने योजना बनाएको समेत उनले बताए।