कन्सलटेन्सीहरुसँग सहकार्य गर्दै मन्त्रालय अगाडि बढ्न चाहेको छ : सचिव अधिकारी

 कन्सलटेन्सीहरुसँग सहकार्य गर्दै मन्त्रालय अगाडि बढ्न चाहेको छ : सचिव अधिकारी


काठमाडौं । मन्त्रालय कन्सलटेन्सी (परामर्शदाता) हरुसँग सहकार्य गर्दै अगाडि बढ्न चाहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले बताएका छन् । शैक्षिक परामर्श व्यवसायी संघ नेपालको पहिलो साधारण सभामा उनले सरकार उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा रहेको जानकारी गराउँदै यसका लागि परामर्शदाताहरुसँग सल्लाह सुझाव लिंदै सहकार्य गर्न चाहेको बताएका हुन् । 

उनले भने, ‘कन्सलटेन्सी भनेपछि मन्त्रालयको गेटबाट भित्र छिर्न नहुने भन्ने हुदैँन्, हामी सहकार्य गर्न चहन्छौ । यतिबेला हामी उच्च शिक्षा सम्बन्धी कानुन तर्जुमाका क्रममा छौं । शैक्षिक परामर्शलाई कस्तो बनाउने, कानुनमा कुन रुपमा राख्ने भन्ने विषयमा तपाइँहरुसँग सल्लाह गर्छौ ।’ कानुन निर्माणका क्रममा संघीय, प्रादेशिक र स्थानीय सरकारको भूमिकाका विषयमा पनि छलफल गर्नुपर्ने उनले बताए । 

उनले विद्यार्थीहरु राम्रो भविष्य र रोजगारीको लागि बाहिरिने गरेको भन्दै यसलाई रोक्नको लागि देशमा नै केही गर्न सकिन्छ भन्ने आशा र विश्वास दिलाउन आवश्यक भएको बताए  । यस्तै, उनले शैक्षिक परामर्शको नाममा ठग्ने संस्थाहरुलाई कारवाही गर्न र राम्रो संस्थालाई प्रोत्साहन गर्न कानुन निर्माण गर्ने पनि बताए । 

उनले भने, ‘बाहिर जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्श व्यवसायी संघको आवश्यकता पर्छ । तर ठगी गर्ने नियतले खोलिएको संस्थाहरुलाई भने कडाईका साथ कारवाही गर्नुपर्ने हुन्छ । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने, गलत गर्नेलाई कारवाही गर्ने गरी कानुन बनाउँदै छोँ ।’