कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्नुपर्छ : सांसद सुवाल

 कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्नुपर्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निलम्बन गरी छानबिन गर्न माग गरेका छन् । मंगलबार संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुवालले घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुसँग अर्बौ रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको जस्ता विविध आरोप लागेकाले घिसिङलाई निलम्बन गरी छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए । 

सांसद सुवालले भने, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध डेडिकेटेट र ट्रंक लाइन विद्युत उपभोग गरेकाहरुसँग २०–२५ अर्ब रुपैयाँ असुल नगरेको, चिलिमे त्रिशुली ठेक्का समयमै पूरा नगरेका ठेकेदारलाई कारबाही नगरेको, ६ अर्बको ट्रान्सफर्मर खरिद गर्दा कमीसनको पछि लागेको, विद्युत नियमन आयोगको सिफारिसबिना पीपीए गरी राज्यलाईं करोडौंको नोक्सानी पुर्याएको, ५५ करोडको शेयर नौं करोडमा खरिद गरी भ्रष्टाचार गरेको जस्ता विविध आरोप लागेको हुँदा कार्यकारी घिसिङलाई निलम्बन गरी छानबिन गर्नु जरुरी छ ।’