कास्कीको हेमजा आलु महोत्सवमा भयो पाँच करोड बराबरको आलु कारोबार 

1.

कास्कीमा आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सवमा करिब पाँच करोड बराबरको आलु कारोबार भएको छ।  गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आइतबार सम्पन्न भएको मोहोत्सावा बारे जानकारी दिंदै महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको बताए। उनको अनुसार पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित  नगदले समेत सम्मान प्रदान गरिएको हो।  

हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा नेपाली र निरज तिमिल्सिना साथै शिक्षासेवीद्वय चर्तुरमान श्रेष्ठ र टासी फुनचोक पनि सम्मानित भए। 

सो अवसरमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले क्लबले सराहनीय कार्य गरेको चर्चा गर्नुहुँदै आगामी वर्षदेखि आलु महोत्सवलाई रातो किताबमा नै व्यवस्था गरी रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए। 

आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको थियो।