पोखराको मेयर आकांक्षीसँग कांग्रेसले उठायो २५ हजार शुल्क

पोखराको मेयर आकांक्षीसँग कांग्रेसले उठायो २५ हजार शुल्क

पोखरा महानगरका मेयर आकांक्षीलाई नेपाली कांग्रेसले शुल्क लगाएको छ। महानगरको मेयर आकांक्षीसँग जनही २५ हजार र उपमेयर आकांक्षीसँग जनही २० हजार रुपैया शुल्क लगाएको कांग्रेस पोखराका सचिव गणेशबहादुर थापाले बताए।

पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छनौट गर्न कांग्रेसले आइतबार आकांक्षीका लागि आवेदन दिन आह्वान गरेको थियो। पोखरा महानगरमा उम्मेदवार आकांक्षीसँग स्वेच्छिक रुपमा सहयोग लिन महागर कार्यसमितिले नै निर्णय गरेको थापाले बताए।

‘हामीले उम्मेदवारको आकांक्षीसँग अनिवार्य शुल्क तिर्नु भनेका होइनौं, स्वेच्छिक भनेका छौं,’ उनले भने, ‘केहीले शुल्क तिर्नुभएको छ, केहीले तिर्नुभएको छैन।’ हालसम्म पोखरा महानगरको मेयरमा ९ जना र उपमेयरमा ७ जनाले आकांक्षीले दाबी पेश गरेको थापाले जानकारी दिए। उम्मेदवारका आकांक्षीसँग लिएको रकमबाट पार्टी संचालन र चुनाव खर्चका रुपमा प्रयोग गर्ने निर्णय भएको समेत उनले जानकारी दिए।

कांग्रेस केन्द्रले भने निर्वाचनमा उम्मेदवार आकांक्षीको नाम संकलन र सिफारिस गर्दा शुल्क नलिन निर्देशन दिएको कांग्रेस कास्कीका सचिव भानु ढकालले बताए।