बालकोट पुगेर ओलीलाई ट्युसन पढाउँछु: गगन थापा

बालकोट पुगेर ओलीलाई ट्युसन पढाउँछु: गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको पर्दाफास भएपछि गालिगलोचमा उत्रिएको टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिकाको विषयमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले काँग्रेसको घोषणापत्रमा पाँच बर्ष खेरा गएको विषय पढेर प्रतिक्रिया दिएको बताएका हुन् ।

महामन्त्री थापाले आफुले बालकोट पुगेर नै ओलीलाई ट्युसन पढाउन मन लागेको बताए । ओलीले यस अघि महाधिवेशनको बेला समृद्धि शब्द चोरेको आरोप लगाएको बताउदै आफुले फुर्सदमा बालकोट गएर समृद्धिको बारेमा ओलीलाई पढाउने इच्छा भएको बताए । महामन्त्री थापाले ओलीको समृद्धिमा बाहिरबाट देखिने खुशी भएको तर काँग्रेसले उठाएको समृद्धिमा आम जनताको भित्री मनदेखिको खुशी रहेको टिप्पणी गरे ।

उनले ओलीलाई नआत्तिन आग्रह गर्दै एमाले र काँग्रेसले उठाएको समृद्धिको कहिँ भेट नहुने बताए ।थापाले केपी ओलीलाई रिस उठ्यो भनेर काँग्रेसले झुटो नबोल्ने बताए । काँग्रेसको घोषणापत्रलाई ओलीले मंगलबार‘पागलहरुको प्रलाप’ भनेको विषयमा थापाले प्रतिक्रिया दिएका छन् । थापाले भने- 'जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो । केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ ? केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो ।'

महामन्त्री थापाले ओलीलाई बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह समेत गरे । उनले भने- 'बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ । शरीरलाई ख्याल गर्नुस् ।' महामन्त्री थापाले काँग्रेसका कार्यकर्ताको पहिलो कर्तव्य स्थानीय निर्वाचन सफल हुनुपर्ने बताउदै काँग्रेस कार्यकर्ताको दोस्रो कर्तव्य आफ्नो पार्टीलाई जिताउने भएको बताए । थापाले अहिले पनि काँग्रेसमा गठबन्धनका विषयमा विवाद रहेको बताउदै पार्टीले निर्णय गरेपछि अब पार्टी र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन लाग्नु पर्ने बताए ।