गर्मी सुरु भएसँगै सुनकोशी नदीमा बढ्न थाले पर्यटक 

1.

गर्मी समय सुरु हुन लागे संगै सुनकोशी नदीमा -याफ्टिङ गर्न आन्तरिक र बाह्य पर्यटकहरु बढ्न थालेका छन्।  सिन्धुलीको सुनकोसी गाउँपालिका–५ मुलकोटस्थित रहेको सुनकोशी नदिमा गर्मी चल्न पर्यटक आउन थालेका हुन्।  

गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा -याफ्टिङ गर्ने पर्यटकको भीड लाग्ने गरेको सोहि क्षेत्रमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठले बताए।  उनले भने, 'दिनकै एक–दुई सय पर्यटकले जलयात्रा गरेर आनन्द लिने गरेका छन् ।' 

यस्तै पर्यटन प्रवर्धनमा  सहयोग गर्ने उद्देश्यले जलयात्रा सेवा सञ्चालनमा ल्याइएको हो। अहिले सोहि कार्यले पर्यटक तान्न थप सहयोग पुगेको छ।  यसअघि पनि सोहि व्यवसायीले जाडोयाममा पनि जलयात्रा पर्यटकहरु तानेको थियो। गर्मीयाम चैतदेखि असारसम्म भ्याइनभ्याइ हुने उनको भनाई छ।  

उनले भने, 'जलयात्राको मुख्य सिजन गर्मीयाम हो । यस याममा विशेषगरी काठमाडौँबाट प्याकेजमा मनोरञ्जन लिन आउने गर्दछन्, सार्वजनिक बिदामा दैनिक एक हजार जना बढीले जलयात्रा गर्दै आएका छन्।'

यस्तैगरि जलयात्राका लागि २० वटा बोट (डुङ्गा) रहेका बताउंदै उनले प्रतिबोट आठ जनासम्म यात्रा गर्न सकिने बताए । उहाँका अनुसार सुनकोसी गाउँपालिका–१ को कुशेश्वर महादेव मन्दिरबाट मूलकोटसम्म (१७ किलोमिटर) वा यात्रुको चाहनाअनुसार मुलकोट–खुर्कोटसम्म जलयात्राको नियमित रुट हो ।

उनले भने यहाँ जलयात्रा गरेवापत प्रतिव्यक्ति रु. एक हजार पाँच सय शुल्क लाग्छ । पर्यटकले एक साताको प्याकेजमा मुलकोट–चतारासम्म जलयात्रा सेवा पनि लिन्छन् । यो सेवावापतको शुल्क अलि बढी भएकाले विदेशीले मात्र लिने गरेको उनले बताए ।