चीनमा बढ्यो कोरोना संक्रमणदर, नेपालमा बढ्यो चिन्ता

चीनमा बढ्यो कोरोना संक्रमणदर, नेपालमा बढ्यो चिन्ता

नेपालमा कोभिड–१९ संक्रमण घटेर दुई अंकमा सीमित भएको छ । पाँच दिनदेखि संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकानुसार नेपालको पछिल्लो औसत संक्रमणदर ०.९ प्रतिशतमा झरेको छ । तर, चीनमा पछिल्लो समय संक्रमणदर बढ्दो छ । जसका कारण नेपालमा पुनः कोभिड–१९ को अर्को लहर त आउने होइन भन्ने त्रास छ । 

चीन सरकारले शून्य कोभिड नीति अपनाइरहेका बेला पुनः संक्रमण उच्च भएको छ । त्यहाँ बुधबार एकैदिन तीन हजार ३३८ संक्रमित थप भएका छन् । जसलाई पछिल्लो दुई वर्षयताकै सबैभन्दा तीव्र संक्रमणदर मानिएको छ । मंगलबार चीनको जिलिन प्रान्तमा मात्रै तीन हजारभन्दा बढी संक्रमित थपिएका थिए । नेसनल हेल्थ कमिसन (एनएचसी)का अनुसार यो संख्या दुई वर्षयताकै धेरै हो । 

चीनमा पछिल्लो समय थप भएका संक्रमितको संख्या १० हजार नाघिसकेको छ । यो संख्या चीनमा पहिलो लहरको कुल संक्रमित संख्याभन्दा बढी हो । पछिल्लो साता चीनका बेइजिङ, सांघाई, ग्वाङ्डोङ, जियाङ्सु, शानडोङ र झेजियाङ प्रान्तमा संक्रमित थपिने क्रम बढ्दो छ । संक्रमण बढेकै कारण चीनका १० सहरमा ‘लकडाउन’ गरिएको छ ।

दुई वर्षअघि नेपालमा यही समययाममा समुदायमा कोभिड–१९ संक्रमण फैलिन सुरु भएको थियो । संक्रमण चीनबाट नेपाल आएका नेपाली नागरिकमै देखिएको थियो । त्यसपछि समुदायसम्म संक्रमण पुगेपछि सरकारले चैतको दोस्रो सातादेखि लकडाउन घोषणा गरेको थियो । पहिलो, दोस्रो हुँदै तेस्रो लहरको संक्रमण सकिँदा नेपालमा ११ लाख १८ हजार १०२ जना संक्रमित भइसकेका छन् । संक्रमणका कारण ११ हजार ९५० जनाको मृत्यु भइसकेको छ । 

तर, ओमिक्रोन भेरियन्टले निम्त्याएको संक्रमणको तेस्रो लहर नेपाल–भारतलगायत मुलुकमा उच्च भइरहँदा चीनमा भने कडा सुरक्षा नीति अपनाइएको थियो ।  विश्वका अधिकांश मुलुक ओमिक्रोनमय हुँदा चीन शून्य कोभिड नीतिमा चलिरहेको थियो । चीनमा अहिले ओमिक्रोनको सबभेरियन्ट बीए.२ का कारण संक्रमण बढिरहेको र सो संक्रमण नेपालमा यसअघि नै फैलिइसकेकाले चीनको अवस्थालाई लिएर नेपालमा संक्रमण बढ्ने सम्भावना नरहेको वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।