चीनलाई अलग गरेर आधुनिक संसारको कल्पना गर्न सकिँदैन : सभामुख घिमिरे

चीनलाई अलग गरेर आधुनिक संसारको कल्पना गर्न सकिँदैन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न नसकिने बताएका छन् । चिनियाँ नयाँ वर्षको अवसरमा बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले चीन संसारको आर्थिक शक्तिकोरुपमा स्थापित भएको बताएका हुन् । 

 ‘चीनलाई अलग गरेर संसारको आधुनिक व्यवस्था कल्पना गर्न पनि सकिँदैन,’ उनले भने, ‘चीन पूर्णरूपमा राजनीतिक स्थायित्व र अनुशासित नागरिक बस्ने मुलुककोरुपमा विश्वभर परिचित छ ।’ सभामुख घिमिरेले हिमाल र नदी तथा धर्म र संस्कृतिले जोडिएका चीन र नेपालबीच प्रागैतिहासिक कालदेखि नै सुमधुर सम्बन्ध रहँदैआएको बताए । 

 ‘ऐतिहासिक सम्बन्ध रहेका नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदानको विकासमा समेत उल्लेखनीय उपलब्धि हासिल हुँदै आएको छ,’ उनले भने, ‘नेपाल–चीनबीचको हिमाल र नदीले जोडेको सम्बन्ध हिम र नदीजस्तै पवित्र र हिमालजस्तै विशाल र अटल रहेको यसले पनि पुष्टि गरेको छ ।’


सन् २०१९ मा २३ वर्षपछि भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भम्रण र सोही वर्ष नेपालका तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको चीन भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको सभामुखको भनाइ छ । दुई मुलुकबीच अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारीले दुबै देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याएको सभामुखले बताए । 

  
नेपाल लामो राजनीतिक उतारचढावपछि लोकतान्त्रिक विधिमार्फत राजनीतिक स्थायित्वको अवस्थामा पुगेको सभामुख घिमिरेले बताए  । ‘हाम्रा संघ र प्रादेशिक तहका सरकारहरू विकास र समृद्धिको यात्रातर्फ अगाडि बढेका छन् भने अधिकारसम्पन्न स्थानीय तहहरुले नागरिकलाई घरघरमै सेवा पु¥याइरहेका छन्,’ उनको भनाइ थियो ।

 कार्यक्रममा स्वागत गर्दै चिनियाँ राजदूत छन् सोङले चीन आफ्नो मुलुकमात्रै होइन विश्वकै समृद्धिको पक्षमा रहेको बताए । उनले असल छिमेकी मित्रकोरुपमा नेपालप्रति आफ्नो मुलुकको सदैव सहयोग र साथ रहने उल्लेख गरे । 

 चिनियाँ नयाँ वर्षको अवसरमा चीनको संस्कृति तथा पर्यटन मन्त्रालय, चिनियाँ राजदूतावास तथा आन् ह्वी प्रान्तीय संस्कृति तथा पर्यटन विभागले विशेष कार्यक्रम आयोजना गरेका थिए ।