चार वर्षपछि तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

चार वर्षपछि तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

काठमाडौं । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।

भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए । “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो”, उनले भने “त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।”

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए ।

नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उनले जानकारी दिए । नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक भारत गएका छन् ।

नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ ।