जंगलमा लागेको डढेलो निभाउँदानिभाउँदै गुल्मीमा एक विद्यार्थीको गयो ज्यान

जंगलमा लागेको डढेलो निभाउँदानिभाउँदै गुल्मीमा एक विद्यार्थीको गयो ज्यान

डढेलो निभाउने क्रममा आगोले जलेर गुल्मीमा एक विद्यार्थीको मृत्यु भएको छ । जंगलमा लागेको डढेलो निभाउन गएका धुर्कोट गाउँपालिका वडानम्बर-३ का १३ वर्षका विद्यार्थी दीपक मुखियाको मृत्यु भएको हो। 

जंगलमा लागेको डढेलो निभाउन जाँदा आगोले जलेर गम्भीर घाइते भएका मुखियाको पाल्पामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै अर्को एक जना पनि उक्त डढेलोमा परि गम्भीर घाइते भएको सोहि गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए। डढेलो निभाउने क्रममा धुर्कोट गाउँपालिका वडानम्बर-३ का ५५ वर्षका धनबहादुर जोगी कुँवर घाइते भएका छन्।  अहिले उनको स्वास्थ्य अवस्था गम्भीर भएको कारण बुटवल लागिएको छ।  

हिजो बिहिबारदेखि धुर्कोटको हाडहाडे बर्दवास जंगलमा लागेको डढेलो निभाउन प्रहरी र स्थानीय खटिएका थिए । साथै सोहि जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ५ चापटारी सामुदायिक वनमा लागेको आगो वस्तीमा पुग्दा २ जनाको घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

उनको अनुसार उक्त  डढेलोले इस्मा गाउँपालिका- ५ वस्ने रुद्रबहादुर कुमालको  ३ तले कच्ची घर संगै १ तले खरको छानो भएको कच्ची कटेरो जलेर पूर्णरूपमा नस्ट भएको छ । साथै बाख्रा पनि सोहि डढेलोले जलेर मरेको समेत  प्रहरी निरीक्षक श्रेष्ठले बताए।

त्यस्तै शिवलाल कुमालको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले कच्ची घर र ढुङ्गा माटोले बनेको टिनको छानो भएको १ तले कच्ची गोठ पनि जलेको छ । गर्मीयाम सुरू भएसँगै गुल्मीका कैयन् जंगलमा डढेलोको घटना बढेको छ ।