नेपाली टिमबाट खेल्न नपाएपछि घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमबाट खेल्दै 

1.

नेपालको यू-१६ देखि १९ सम्मको टिममा भाग लिन नपाएका पोखराका सुमन घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमबाट खेल्दै छन्।  

अहिले पोर्चुगलको राष्ट्रिय क्रिकेट टिमले अहिले जिब्राल्टरसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको छ। सोमबार भएको पहिलो खेलमा पोर्चुगलले १२४ रनको जित निकालेको थियो।  

सिरिजका लागि घोषणा गरिएको पोर्चुगलको टिममा एसियन र अफ्रिकी मूलका खेलाडीको बाहुल्यता छ। जसमा पोर्चुगलको टिममा नेपाली मूलका घिमिरे रहेका छन्।  

यसअघि घिमिरे  २०७१ सालमा नेपालको यू-१६ टिमको बन्द प्रशिक्षणमा परेका थिए। निरन्तर बन्द प्रशिक्षणमा परेका घिमिरे नेपालको यू-१९ टिमको बन्द प्रशिक्षणमा पनि बोलाइए। तर टिममा परेनन्। गण्डकीबाट यू-१९ राष्ट्रिय प्रतियोगिता खेलेका उनले खेलमा आफ्नो भविष्य सुनिश्चित देखेनन्। फेरि त्यहाँ बाट हटे। 

यस्तै आफुले पोर्चुगलमा गोर्खा-११ बाट युरोपयन क्रिकेट सिरिजअन्तर्गत क्लबस्तरीय टी-२० र टी-१० का लिगहरू खेल्ने गरेको घिमिरेले बताए।  उनले भने, 'नेपालबाट एक पटक खेल्ने पहिलेदेखि नै एउटा सपना थियो। तर यहाँ आएर जिरोबाट सुरू गरेर टिममा परेको छु, यसलाई निरन्तरता दिन चाहन्छु। '