नाबालिका बलात्कारको आरोपमा दुई युवा पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई युवा पक्राउ

बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । बैतडीको शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका-५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

जिल्लाको तल्लो स्वराडकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार तामाङले बालिकालाई बलात्कार गरेको स्वीकारेका छन्।चैत ४ गते साँझ स्थानीय जंगलमा घाँस काट्न गएको मौका छोपेर तामाङले नाबालिकालाई बलात्कार गरेको खुल्न आएको खड्काले बताए। गुरुङले सहयोगी भूमिका  खेलेको अनुसन्धानबाट खुलेको छ।  उनले भने, 'तामाङले बलात्कार गरेको रहेछन्, गुरुङ पनि बलात्कार गर्न भनि गएका र नाबालिकाले चिच्याएर हल्ला गरेको भन्ने बुझिएको छ।'

उनीहरूविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको र आज अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका गुरुङ र तामाङ पाटन–पञ्चेश्वर सडक निर्माण गर्न बैतडी आएका हुन्। उनीहरु दुवै जना विवाहित रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।