मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने मुख्यमन्त्रीको घोषणा

मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने मुख्यमन्त्रीको घोषणा

भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा गरेका छन् । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा मुख्यमन्त्री मानले पञ्जाबका नागरिकले हरेक महिना तीन सय युनिटसम्मको बिजुली नि:शुल्क पाउने घोषणा गरेका हुन् ।

उनले औद्योगिक उपभोक्ताको लागि महसुल नबढाउने र कृषकहरुका उपकरणमा लाग्ने शुल्क पनि कटौती गरिने बताए । उनले गएको मंगलबार ट्विट गर्दै आफूले दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेको र पञ्जाबका नागरिकलाई छिटै एउटा खुसीको खबर दिने बताएका थिए। हरेक घरमा तीन सय युनिटसम्म बिजुली नि:शुल्क उपलब्ध गराउने विषय आम आद्मी पार्टीको चुनावी वाचामध्ये एक थियो । यो निर्णय कार्यान्वयन भएमा पञ्जाबका ६२ लाख २५ हजार अर्थात झण्डै ८४ प्रतिशत परिवारले नि:शुल्क बिजुली पाउनेछन् ।

पञ्जाब सरकारले तीन सय युनिटसम्म निस्शुल्क बिजुली दिँदा वार्षिक ५५ अर्ब भारतीय रुपैयाँ बेहोर्नुपर्ने खबरमा उल्लेख छ । यसअघि कांग्रेस आईको सरकारले मासिक दुई सय युनिटसम्मको बिजुली निस्शुल्क गरेको थियो भने सात किलोवाटसम्मका ग्राहकले न्युनतम प्रति युनिट तीन भारु तिरे पुग्थ्यो ।