पाँचखालका मेयरको घोषणाः सेवा सुविधा सुविधाका लागि आउने रकम बाढीपहिरो पीडितलाई दिने 

पाँचखालका मेयरको घोषणाः सेवा सुविधा सुविधाका लागि आउने रकम बाढीपहिरो पीडितलाई दिने 


काठमाडौं । आफनो सेवा सुविधाका लागि आउने रकम बाढीपहिरो प्रभावितका लागि सहयोग गर्ने पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बताएका छन्। उनले आफ्नो तीन वर्षको सेवा सुविधावापतको १५ लाख रुपैयाँ बाढीपहिरो प्रभावित पालिकालाई दिने घोषणा गरेका हुन ।

मेयर खरेलले पाँचखाल नगरभन्दा अन्य पालिकामा धेरै नै जनधनको क्षति भएकोले उहाँहरुलाई सानो भए पनि सहयोग होस् भनेर यो निर्णय गरेको बताएका छन् । उनले अहिलेको विपद्को घडिमा आफ्नो दक्ष अनुसारको सहयोग गर्न सबैलाइृ आग्रह समेत गरेका छन् । आइतबार बसेको कार्यपालिकाको बैठकबाट आधिकारिक निर्णय नै गराएर उनले सेवा सुविधावापतको रकम काभ्रे जिल्लाका प्रभावित पालिकाका पीडितका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

यही असोज ११ र १२ गते आएको बाढीपहिरोले गर्दा काभ्रेमा मानवीय क्षतिका साथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक स‌ंस्था, कृषि, व्यवसायलगायत क्षेत्रमा ठूलो क्षति भएको छ ।

त्यस्तै मेयर खरेल लगायत नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु शिवप्रसाद हुमागाईं, मधुप्रसाद आचार्य,  गणेश लामालगायतले नमोबुद्ध, रोशी, पनौती, बेथानचोक, पाँचखाल, मण्डनदेउपुर लगायतका पालिकाहरुमा खाद्यान्न र त्रिपाल वितरण गरेका छन् ।