प्रधानमन्त्रीलाई रुसी सेनामा कार्यरत नेपालीका अफन्तले बुझाए १३ बुँदे माग

प्रधानमन्त्रीलाई रुसी सेनामा कार्यरत नेपालीका अफन्तले बुझाए १३ बुँदे माग


काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको स्थिति सार्वजनिक गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, सेनामा रहेकाको करार रद्द गर्न माग गर्दै अनशन बस्दै आइरहेका परिवारजनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्ना मागहरु बुझाएका छन् ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर आफ्ना १३ बुुँदे माग प्रधानमन्त्री दाहालसमक्ष बुझाएका हुन् । दुई साताअघिदेखि १३ बुँदे माग राख्दै जारी राख्दै आएका उनीहरुले प्रधानमन्त्रीलाई नै भेटेर मागपत्र बुझाएका हुन् । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको अगुवाएमा माग पत्र बुझाइएको हो । 

भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग कतैबाट सम्बोधन नभएको उनीहरूको गुनासो छ ।हालसम्म रुसमा कार्यरत रहेकामध्ये अनशनकारीहरुसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । 

जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।