एकीकृत समाजवादीका मकवानपुर जिल्ला अध्यक्षले त्यागे पार्टी

एकीकृत समाजवादीका मकवानपुर जिल्ला अध्यक्षले त्यागे पार्टी

नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पौडेलले पार्टी परित्याग गरेका छन्। स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरको प्रमुख पदका आकांक्षी रहेका उनले टिकट नपाएपछि असन्तुष्टि जनाउँदै पार्टी त्यागेका हुन्।

सत्तारुढ गठबन्धनले हेटौंडाको प्रमुख पद एकीकृत समाजवादीलाई दिएको थियो। एकीकृत समाजवादीले प्रमुखमा निवर्तमान उपप्रमुख मिना लामालाई टिकट दिएको थियो। हेटौंडा उपमहानगरपालिका प्रमुखमा मिना लामासँगै श्रीधर पोखरेलको नाम सिफारिस भएको थियो। पत्रकार सम्मेलन गर्दै उनले गठबन्धनको नाममा अध्यारो कोठामा बसेर कम्युनिष्ट आन्दोलनलाई सकाउने षड्यन्त्र भइरहेको बताएका छन्।

उनले निर्वाचित निकायलाई भ्रष्टाचारको अखडा बनाउन लागेको आरोप समेत लगाए। ८ महिना अघि नेकपा एमालेबाट गरिएको विद्रोहलाई उनले केही व्यक्तिको अवसर प्राप्तिको महत्वकांक्षाको रुपमा व्याख्या गरेका छन्। स्थानीय तह निर्वाचनपछि पार्टी कमजोर हुने दाबी समेत गर्दै राजीनामा दिएको उनले उल्लेख गरेका छन्।