प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले गरे यस्तो आग्रह

प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले गरे यस्तो आग्रह

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भेटवार्ता भएको छ । बालुवाटारमा भएको छलफलमा प्रचण्डले देउवालाई सशस्त्र द्वन्द्व (जनयुद्ध)का घाइते तथा अपांगता भएका व्यक्तिहरूबारे ध्यानाकर्षण गराएका छन् । 

प्रचण्डले उनीहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि संशोधन गर्नुपर्ने, लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेकाहरूको सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएका हुन् । 

त्यस्तै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मानपत्रसहित राहत उपलब्ध गराउनुपर्ने विषयमा ध्यानाकर्षण गराइएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।