बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न बैठक बसेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बिहान ९ बजेदेखि जारी रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। 

उम्मेदवार चयन पूर्व सबैजसो जिल्लामा सत्ता गठबन्धनका नेता सम्मिलित संयन्त्र निर्माण गरेर दलहरु उम्मेदवारी दिने स्थानीय तह भागवण्डाको गृहकार्यमा लागेका हुन्। निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि मनोनयन दर्ताको मिति तोकेको छ। 

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाले जिल्लाहरुमा संयन्त्र निर्माण गरेका छन्। यो संयन्त्रले आवश्यकताअनुसार जिल्लामा अन्य दलहरुसँग पनि तालमेलको खाका तयार गर्नेछ। 

हालसम्म चितवन, अछाम, नुवाकोट, जाजरकोट, तनहुँ, कास्की, धनकुटा, कञ्चनपुर, अर्घाखाँची, बागलुङ, तेह्रथुमलगायतका जिल्लामा संयन्त्र निर्माण भइसकेका छन्। संयन्त्रले गर्ने सिफारिसका आधारमा गठबन्धनले उम्मेदवार चयनको सुझाव दिनेछ। 

मुख्यगरी ६ वटा महानगरमा तालमेलका लागि गठबन्धनलाई अप्ठेरो पर्ने देखिएको छ। महानगरमा कांग्रेस, माओवादी र नेकपा एकीकृतको दाबी रहेकाले भागवण्डा मिलाउन अप्ठेरो हुने देखिन्छ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धनभित्र भागवण्डाको मापदण्ड तयार भइनसकेकाले अन्योल जस्तो देखिए पनि मापदण्ड बन्नासाथ समस्या समाधन हुने दाबी गरे। 

मुख्यगरी काठमाडौं, ललितपुर, भरतपुर र विराटनगर महानगरपालिकामा कांग्रेसले नै दाबी गरेको छ। भरतपुरमा माओवादीको दाबी यथावत् छ। अन्य पार्टीहरुले आफ्नो दाबीबारे सार्वजनिक अभिव्यक्ति नदिए पनि उचित भागवण्डा हुनुपर्ने अडानमा छन्। आज बस्ने गठबन्धनको बैठकले उम्मेदवार छनोट र यसको मापदण्ड तय गर्न सक्ने बताइएको छ।