अभिनेता भुवन केसी काठमाडौंको मेयर उठ्ने

अभिनेता भुवन केसी काठमाडौंको मेयर उठ्ने

वैशाख ३१ मा हुने स्थानीय तहको चुनावको निम्ति कलाकारहरुले पनि उम्मेद्वारी दिने घोषणा गरिरहेका छन्। यसबीच अभिनेता भुवन केसीले पनि काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिने भएका छन्। उनले स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिने भएका छन्। 

मंगलबार बसेको उक्त पार्टीको केन्द्रीय कार्य समितिको बैठकबाट काठमाडौं महानगरपालिकाको मेयरका लागि केसीलाई छानिएको छ। त्यस्तै, पार्टीले उपमेयरका लागि शहरीय गरिबीको अनुसन्धाकर्मी रेश्मा लामालाई चयन गरेको छ। केसीलाई मंगलबारकै बैठकबाट पार्टीले परराष्ट्र विभागको जिम्मेवारी पनि दिएको छ।

दोस्रो संविधानसभाको चुनावताका कलाकारको नेता बन्ने लहरका बीच एमाले पार्टीमा प्रवेश गरेका भुवन केसी केही समययता राप्रपा पार्टीमा प्रवेश गर्ने चर्चा थियो। उनलाई दोस्रो संविधान सभाको चुनावमा एमालेले काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावमा उठाउने आशा पनि देखाएको थियो। पार्टीबाट टिकट पाउन दिनरात खटेका केसी अन्ततः खाली हात भएका थिए। त्यसयता पनि पटक पटक उनले आफू ‘जन्मेदेखि नै एमाले’ भन्दै आएका थिए। 

तर, पछिल्ला केही वर्षदेखि केसी राजनीतिक रुपमा सक्रिय थिएनन्। आगामी स्थानीय तहको चुनावमा भने फेरि उनी राजनीतिक रुपमा सक्रिय हुने देखिएका छन्। जसअनुसार उनले स्वागत नेपाल नेतृत्वको पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेद्वारी दिने भएका छन्। 

काठमाडौं महानगरपालिकाकै मेयर पदका लागि चुनावी मैदानमा उत्रिने अन्य कलाकारले पनि घोषणा गरेका छन्। र्‍यापर बालेन शाहदेखि मिस नेवा तथा सञ्चारकर्मी सुनिता ढंगोलले पनि मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरिसकेका छन् ।