मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भोः विष्णु रिमाल

मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भोः विष्णु रिमाल


काठमाडौ, ७ जेठ । आफूले यसअघि राखेको धारणाको बचाउ गर्दै नेकपा (एमाले) का नेता विष्णु रिमालले काम गर्न ‘बहुलाउनैपर्ने’ बताएका छन् । आज समाजिक सञ्जाल मार्फत उनले ७२ सालको संविधान बहुलाएरै बनाएको, केपी ओलीले बहुलाएरै नाकाबन्दीको सामना गर्नुपरेको भन्दै मुलुकमा अब केही गर्न बहुलाउनै पर्ने बताएका छन् ।

यसअघि रिमालको सार्वजनिक भिडियोमा केपी ओलीको स्टाटसमा पचासहजार लाइक आएमात्रै एमाले पहिलो पार्टी हुने बताएका थिए । उनले त्यसमा रवि लामिछाने, हर्क साम्पाङ, बालेन शाहको स्टाटसमा त्यसैगरी लाइक र कमेन्ट आउने बताएका थिए ।उनले साम्पाङलाई बहुला पाराले काम गरेको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा नेता रिमालको चर्को आलोचना भइरहेको छ ।

आफूले यसअघि राखेको धारणाको बचाउ गर्दैएपछि रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, “हो, अब हामी “बहुलाउनै” पर्छ,०७२ सालमा संबिधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं । त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो । जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्‍यो ।

०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं । आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, हामीले “बहुलाएरै” नक्सामा सामेल गर्‍यौं । सिंगो मुलुक एक ठाउँमा उभियो ।

अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन् । सबैलाई ‘श्रमदान गर भनिरहेका छन् । त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने, धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर, म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ । हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो,फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु । म ति आलोचना स्वीकार्छु, धन्यवाद ।