ओलीले राजावादीसँग मध्यरातमा अज्ञात ठाउँमा भेटेर खतरनाक योजना बनाउँदै  छन्: अध्यक्ष नेपाल

ओलीले राजावादीसँग मध्यरातमा अज्ञात ठाउँमा भेटेर खतरनाक योजना बनाउँदै  छन्: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले  एमालेका अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको आरोप लगाएका हुन् ।

उनले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि बताए । उनले तत्कालिन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको बताए । अध्यक्ष नेपालले तत्कालिन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि बताए । अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे । उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले आफूहरु त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताए ।

एमालेले गुण्डा जमात तयार पारेकाले त्यहाँ फरक मत राख्नेलाई हातपात पनि हुनसक्ने उनले बताए ।  अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमपनि समाजवादीमा आउन चाहेको बताए ।