यस सिजनमा मात्रै सगरमाथामा ११ आरोहीले गुमाए ज्यान

यस सिजनमा मात्रै सगरमाथामा ११ आरोहीले गुमाए ज्यान

काठमाडौं, ६ बैशाख । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो । 

मलेशियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परे पछि  आधारशिविर ल्याईएको थियो, उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एकजनाको भने पहिचान खुल्न बाँकी छ । 

सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन् ।  ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने । 

 सगरमाथा आरोहण गर्नका लागि अहिलेसम्मकै सबैभन्दा बढी अर्थात ४ सय ६६ जना आरोहीले अनुमति लिएका थिए । ती मध्ये कतिले सफल आरोहण गरे, त्यसको अन्तिम रिर्पोट तयारी गरिदै गरेको पर्यटन बोर्डले जनाएको छ । यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएका छन् ।