रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत हो : गृहमन्त्री लामिछाने 

 रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत हो : गृहमन्त्री लामिछाने 

काठमाडौं ।  रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन् । उनले सडक यायायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्र पंतिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।  

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछनेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरेका छन् । 

गृहमन्त्रीले भने, ‘ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढंगले सवारी चलाएको छ कि छैन भन्ने कुरा हेर्ने नियमन गर्ने निकाय अर्को छ । रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने जुन परिपाटी छ त्यो परिपाटी नै ठिक छैन । त्यसलाई परिवर्तन गर्नुपर्ने छ ।’  
गृहमन्त्री लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई एकदमै कडाई गर्नुपर्छ भन्ने पक्षमा आफू नभए पनि राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए ।