वर्षाले जलविद्युत आयोजनामा ठूलो क्षतिः ११०० मेगावाट बिजुली उत्पादन बन्द, भारत निर्यात कटौती

वर्षाले जलविद्युत आयोजनामा ठूलो क्षतिः ११०० मेगावाट बिजुली उत्पादन बन्द, भारत निर्यात कटौती


काठमाडौं । बिहीबार बेलुकादेखि शनिबारसम्म परेको अविरल वर्षाले जलविद्युत आयोजना तथा सिँचाइ क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। जलविद्युत आयोजना, सिँचाइका निर्माणाधीन तथा निर्माण सकिएका आयोजनामा ठूलो क्षति पुर्‍याएको हो। हालसम्म आएको प्रारम्भिक विवरण अनुसार निर्माण सकिएर बिजुली उत्पादन गरिरहेका ११ वटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ। ११ आयोजनाको कुल जडित विद्युत क्षमता ६२५.९६ मेगावाट छ।

त्यसैगरी, आपत्कालीन अवस्थामा विद्युत गृहहरूको उत्पादन बन्द गर्नुपर्दा करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपकबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार निर्माणधीन १५ वटा आयोजनाहरूमा बाढी तथा पहिरोले क्षति पुर्‍याएको छ। कुल १०१०.२९ मेगावाट जडित विद्युत क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याएको हो। हालसम्म जलविद्युत आयोजनातर्फ दुई अर्ब ४५ करोड बराबरको क्षति भएको छ।

‘यो अनुमानित विवरण हो, यसमा अझै बढ्न सक्छ,’ मन्त्री खड्काले भने, ‘माथिल्लो तामाकोशीमा आयोजनामा दुई कर्मचारी र नेपाल आर्मीका दुई गरी चार जना बेपत्ता छन्। यी चार जनाबाहेक अन्य मानवीय क्षति भएको जानकारी मन्त्रालयलाई छैन।’गत वर्षको तुलनामा भने यो वर्ष केही कम क्षति भएको उनको भनाइ छ।‘गत वर्ष १० अर्ब बढीको क्षति भएको थियो। यो पटक मौसम पूर्वानुमानका कारण अगाडिदेखि नै सजग गराइएकाले कम क्षति भयो,’ मन्त्री खड्काले भने।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार माथिल्लो तामाकोशीमा निकै ठूलो क्षति पुर्‍याएको छ। यसले गर्दा आउने सुख्खा सिजनमा विद्युत व्यवस्थापनमा समस्या निम्तिने छ। अहिले पनि आयोजनाका संरचना तथा टावरहरूमा समस्या आउँदा विभिन्न स्थानमा विद्युत आपूर्तिमा समस्या भइरहेको छ।

काबेली करिडोरमा एउटा बगायो दुइटामा क्षति पुग्यो तीन टावरमा क्षति हुँदा पाँचथर फिदिम लगायत पूर्वमा बिजुली आपूर्तिमा समस्या छ। खिम्तीबाट लामोसाँघु आउने टावर तामाकोशीले बगायो। त्यसले गर्दा २०० मेगावाट काठमाडौं आउने बिजुली बन्द रहेको निर्देशक घिसिङले जानकारी दिए।

‘भारत निर्यात गरिरहेको बिजुली कटौती गरिएको छ। निर्यात पनि २५० देखि ३०० मेगावाट बिजुली मात्रै गर्न सकेका छौं,’ उनले भने, ‘बिजुली आपूर्तिमा समस्या भए पनि भारतबाट भने आयात गर्नु परेको छैन।’उनले थपे, ‘आन्तरिक खपत गरेर बचेको बिजुली मात्रै निर्यात गरिरहेको छ।’स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी पहिरोका कारण आयोजनामा क्षति पुग्दा अब लागत र समय पनि बढ्ने बताए।गत वर्ष बाढीले क्षति पुगेका आयोजना कतिपयले निर्माण सकेर बत्ति बाल्ने अवस्थामा पुगेपछि पुन: क्षति पुर्‍याएको उनले जानकारी दिए।

यी हुन सञ्चालनमा रहेका क्षतिग्रस्त ११ वटा जलविद्युत आयोजना

अपर तामाकोशी (४४६ मेगावाट)
बागमती साना जलविद्युत आयोजना (२२ मेगावाट)
सोलु दूधकोशी (८६ मेगावाट)
माइखोला क्यासडेड (३ मेगावाट)
माइखोला (९.६ मेगावाट)
फेमे खोला (१ मेगावाट)
सिउरी खोला (५ मेगावाट)
खानी खोला (२ मेगावाट)
टुङ्गुन ठोस्ने (४.३६मेगावाट)
तल्लो हेवाखोला (२२.१ मेगावाट)
हेवाखोला-ए (१४.९ मेगावाट)
त्यसैगरी निर्माणाधीन अवस्थामा रहेका क्षतिग्रस्त आयोजना

अपर त्रिशुली-१ (२१६ मेगावाट)
सुपरन्यादी (४० मेगावाट)
इलेप खोला (२५ मेगावाट)
हेवा खोला (५ मेगावाट)
सभाखोला-बी जलिविद्युत आयोजना १५.१
सभा खोला-सी (६.३ मेगावाट)
लान्द्रुक मोदी (८६.५९ मेगावाट)
सुपर त्रिशूली (१०० मेगावाट)
लाङटाङ खोला (२० मेगावाट)
माया खोला (१४.९ मेगावाट)
लाप्चे खोला (९९.४ मेगावाट)
भोटेकोशी-१ (४० मेगावाट)
तत्लो सोलु ८२ तनहुँ जलविद्युत आयोजना १४० रसुवा भोटेकोशी जलविद्युत आयोजना बाढी तथा पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा समेत क्षति पुर्‍याएको छ। काबेली करिडोर अन्तर्गत दमक गोदक १३२ केभी प्रसारण लाइनमा पनि क्षति पुगेको उल्लेख छ।

यस करिडोरको गोदक सबस्टेसनमा जोडिएको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको ३३ केभी लाइनको करिब १० वटा पोल बगाएको आयोजनाले जनाएको छ।

त्यस्तै सुपरमाई ए क्यास्केड आयोजनाको ३३ केभी लाइनको ३ वटा पुल बगाएको उल्लेख छ।

काबेली बी १ क्यास्केडको ३३ केभी लाइनको एउटा पुल ढलेको उल्लेख छ। करिडोरमा मात्रै पाँच करोड २५ लाखको क्षति भएको अनुमान छ।

सोलु करिडोरमा तीन वटा पोल ढलेको छ। यसको क्षतिको पूरा विवरण आइसकेको छैन।

खिम्ती करिडोरमा टावरमा एक करोड ५० लाख बराबर क्षति भएको अनुमान छ।

गण्डकी प्रदेशमा १५ वटा ट्रान्सफर्मर, लुम्बिनीमा ४१ हाइटेन्सन पोलमा र १०२ लोटेन्सन पोलमा क्षति पुर्‍याएको छ। यो प्रदेशमा चार वटा ट्रान्सफर्मरमा क्षति पुगेको तथ्यांक छ।

कर्णाली प्रदेशमा २१२ हाइटेन्सन पोल, २६० लोटेन्सन, सुदूरपश्चिममा ४२ वटा हाइटेन्सन पोल, ३७ लोटेन्सन पोल र ८ वटा ट्रान्सफर्मरमा समस्या छ।

कोशी प्रदेशमा १८२ हाइटेन्सन, १६१ लोटेन्सन पोल र ३ वटा ट्रान्सफर्मर, मधेसमा १४८ हाइटेन्सन पोल, १८० लोटेन्सन पोल र दुइटा ट्रान्सफर्मर, बाग्मतीमा ३९४ हाइटेन्सन पोल, ३७३ लोटेन्सन पोल र १५ ट्रान्सफर्मरमा क्षति पुगेको प्राधिकरणले जनाएको छ।

मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिँचाइसमेत गरी कुल एक अर्ब ३२ करोड क्षति भएको छ। विद्युत र सिँचाइको ४ अर्ब ३५ करोडको क्षति भएको प्रारम्भिक अनुमान छ।