पर्यटन मन्त्रीसहित २६० यात्रु बोकेर भोलि काठमाडौंबाट भैरहवा जाँदै वाइडबडी जहाज

पर्यटन मन्त्रीसहित २६० यात्रु बोकेर भोलि काठमाडौंबाट भैरहवा जाँदै वाइडबडी जहाज

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले भोलि बिहीवार परीक्षण उडान गर्ने भएको छ । नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज भोलि दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको हो । 

जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले  जानकारी दिए । जहाज भैरहवा पुगेको दुई घण्टापछि फेरि काठमाडौं फर्कनेछ । दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने पनि दाहालले जानकारी दिए । काठमाडौंबाट पुगेका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियमअनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने महाप्रबन्धक दाहालको भनाइ छ । 

गौतमबुद्ध विमानस्थलमा गएको वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो । विमानस्थलबाट आउँदो जेठको १५ गतेदेखि नियमित व्यावसायिक उडान हुनेछ ।