चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आउँदै

चिनियाँ विदेश मन्त्री वाङ यी आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी आज अपरान्ह चार बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्। भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

पाकिस्तानबाट अफगानिस्तान पुगेका  वाङ हिजो नयाँ दिल्ली पुगेका छन्। त्यहाँबाट सिधै काठमाडौं अवतरण गर्नेछन्। चिनियाँ टोली २५ सदस्यीय टोलीको नेतृत्व गर्दै आउने टोलीमा चीनका परराष्ट्र, उर्जा, सुरक्षा, अर्थ र वाणिज्य मन्त्रालयका बरिष्ठ अधिकारी तथा पत्रकार  सहभागी रहनेछन्।

वाङ नेतृत्वको चिनियाँ टोली सोमबारदेखि पाकिस्तान भ्रमणमा थियो। पाकिस्तानबाट वाङले अघोषित भ्रमणमा बिहीबार अफगानिस्तान पुगेर तालिबान अधिकारीसँग भेट गरेका थिए। उनी काबुलबाट सिधै नयाँ दिल्ली उत्रिएका थिए। वाङको आज साँझ कुनै पनि उच्चस्तरीय भेटवार्ता हुने छैन। उनले आएलगत्तै काठमाडौँस्थित चिनियाँ राजदूत होउ यान्छी र दूतावासका अधिकारीसँग ब्रिफिङ लिनेछन्।

शनिबार बिहान १० बजे परराष्ट्रमन्त्री डा खड्कासँग वाङले दुई पक्षीय भेटवार्ता गर्नेछन्। खड्काले वाङलाई दिवाभोज दिने कार्यक्रम छ। त्यही समय नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर हुने तय भएको छ। 

शनिबार दिउँसो नै वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेट्नेछन्। आइतबार बिहान ९ बजे वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पालैपालो भेट्नेछन्। आइतबार दिउँसो ३ बजे उनी बेइजिङ उड्ने कार्यक्रम छ।