शेयर बजार राताम्मे, कारोबार रकममा भने सामान्य सुधार

शेयर बजार राताम्मे, कारोबार रकममा भने सामान्य सुधार

हिजो सोमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ दशमलव शून्य ६ विन्दुमा झरेको छ । 

शेयर बजार दोहोरो अङ्कले घटेको दिन होटल समूहबाहेक अरू सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । हिजो एक अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५८ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड १२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने नारायणी विकास बैंक र युनाइटेड मार्दी जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्र बजार घट्दा पनि राष्ट्र उत्थान लघुवित्त र नेस्डो समृद्ध लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।