सिट बाँडफाँटबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा 

सिट बाँडफाँटबारे टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान गठबन्धनको बैठक जारी छ । रामचन्द्र पौडेल संयोजकत्वको चुनाव परिचालन समितिका सदस्यसहित गठबन्धनको बैठक बसिरहेको हो । 

आजको बैठकबाट महानगर र उपमहानगरको मेयर तथा उपमेयरको भागबण्डा मिलाउने तयारी भएको छ । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित ३ महानगर लिएर माओवादी केन्द्र, नेकपा एस र जसपालाई एक– एक महानगर दिने गरी सहमतिको प्रयास भइरहेको छ । आइतवार साँझ बसेको बैठकमा माओवादीले चितवनको भरतपुर, नेकपा एसले पोखरा र जसपाले वीरगञ्ज महानगरमा दाबी गरेको थियो । 

माओवादीले ४, नेकपा एसले ३ र जसपाले २ उपमहानगरमा दाबी गरेको छ । नगरपालिका र गाउँपालिकामा भागबण्डा मिलाउने जिम्मा भने प्रदेश र जिल्लास्तरीय संयन्त्रलाई दिइएको छ । पर्सा, सल्यानलगायत कतिपय जिल्लामा भने तालमेल नहुने भएको छ ।