सामूहिक र सभ्य प्रयासले मात्रै आर्थिक विकासको ढोका खोल्छ : अध्यक्ष ढकाल

सामूहिक र सभ्य प्रयासले मात्रै आर्थिक विकासको ढोका खोल्छ : अध्यक्ष ढकाल


काठमाडौं । सामूहिक र सभ्य प्रयासले मात्रै आर्थिक विकासको ढोका खोल्न सक्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । नेपालका लागि सभ्य देश कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रसँगको सम्झौतापछि उनले, नेपाली श्रम क्षेत्रको विकासको भिजनलाई व्यवस्थितरुपमा अघि बढाएर आर्थिक विकासको ढोका खोल्न सकिने विश्वास व्यक्त गरे । 

कार्यक्रमले निजी क्षेत्रका श्रमिक र नेपाल सरकारसँग सहकार्यमा काम गर्ने प्रतिबद्धतालाई संकेत गरेको ढकालले बताए । उनले दुई संस्थाबीचको सम्झौताले आर्थिक सुधारको लागि प्रतिनिधित्व गर्ने समेत उल्लेख गरेका छन् । उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीचको सम्झौताले बलियो प्रतिबद्धता र सहकार्यमा काम गरेर आर्थिक सुधारको लागि गरिएको कामको प्रतिनिधित्व गर्छ ।’ 

नेपालले पनि वर्तमानमा आर्थिक सङ्कटको समस्या भोग्दै आउनुमा छ हाम्रो आफ्नै अर्थव्यवस्थाको कारक रहेको ढकालको भनाई छ । नेपाली अर्थव्यवस्थामा समस्यासँगै सम्भावना पनि रहेको उल्लेख गर्दै ढकालले ‘नेपालका लागि सभ्य काम देश कार्यक्रम’ले आँउदो चुनौती र राम्रो भविष्यको लागि सम्भावनाको प्रतिनिधित्व गरेको बताए ।  

अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा सबै तहमा सामाजिक संवादको माध्यमबाट दस्तावेजको विकास गरेर सो कार्यक्रम बनाएको भन्दै उनले लिखित प्रतिबद्धता कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘मलाई विश्वास छ यसले हाम्रो प्राथमिकता, नेपाल र नेपाली श्रम क्षेत्रको विकासको भिजनलाई प्रतिनिधित्व गर्छ । महासंघ सहकार्यमा काम गर्न र कागजपत्रमा राखिएको अभ्यासलाई व्यवहारमा लागू गर्न सधैँ तयार रहने छ । म यहाँ उपस्थित भएका सबै व्यवसायीहरुलाई पनि सहकार्यमा काम गर्नको लागि आग्रह गर्न चाहन्छु । ’