सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघ्यो, घहरेक नेपालीको थाप्लोमा कति ऋण ? 

सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघ्यो, घहरेक नेपालीको थाप्लोमा कति ऋण ? 


काठमाडौं ।सार्वजनिक ऋणको आकार २५ खर्ब २८ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार भदौ मसान्तसम्म ऋणको सावाँ ब्याज भूक्तानीपछि मुुलुकको कूल ऋण भूक्तानी २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख रुपैयाँ बक्यौता बाँकी रहेको हो । यो राष्ट्रको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा ४४.३२ प्रतिशतको हिस्सा हो ।

कूल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४८.८८ प्रतिशत अर्थात् १२ खर्ब ३५ अर्ब ९० करोड १८ लाख रुपैयाँ रहेको छ भने बाह्य ऋणको हिस्सा ५१.१२ प्रतिशत अर्थात् १२ खर्ब ९२ अर्ब ७१ करोड ९६ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको सार्वजनिक ऋणको आकार ९४ अर्ब ५२ करोड १६ लाख रुपैयाँले बढेको छ । २०८१ साउन १ गते मुलुकको तिर्न बाँकी कूल सार्वजनिक ऋणको आकार २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा आन्तरिकतर्फ ५५ अर्ब रुपैयाँले ऋण थपिएको छ भने बाह्यतर्फ ३९ अर्ब ५२ करोड १७ लाख रुपैयाँ ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । भदौ मसान्तसम्म कायम कूल सार्वजनिक ऋणलाई कूल २ करोड ९१ लाख ६४ हजार ५७८ जना जनसंख्याले भाग गर्दा एक नेपालीको भागमा ८६ हजार ७०१ रुपैयाँ ८० पैसा ऋण पर्ने देखिन्छ ।