रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडका क्रममा परी मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबीच रेल चढ्ने क्रममा भागदौड भएको हो ।
उत्तरी शहर प्रयागराजमा हुने कुम्भ मेलाले प्रत्येक १२ वर्षमा दशौँ लाख हिन्दू धर्मावलम्बीहरूलाई आकर्षित गर्दछ ।फेब्रुअरी २६ मा समाप्त हुने उक्त कार्यक्रमका लागि रेल चढ्नका लागि भीडले सङ्घर्ष गरिरहेका बेला नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड भएको हो ।
“अस्पतालमा १५ जनाको मृत्यु भएको म पुष्टि गर्न सक्छु। तिनीहरूलाई कुनै पनि देखिने चोट छैन । हाइपोक्सिया वा कुनै चोटका कारण मृत्यु भएको हुन सक्छ तर शव परीक्षणपछि मात्र यसको पुष्टि हुनेछ,” नयाँ दिल्लीस्थित लोकनायक अस्पतालकी डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा। रितु सक्सेनाले एएफपीसँग बताइन ।
शहरको अर्को अस्पतालका एक अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले भागदौडमा परी थप तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
“म सन् १९८१ देखि कुल्लीको काम गर्दै आएको छु, तर मैले यसअघि यस्तो भीड कहिल्यै देखेको थिइनँ,” रेलवे स्टेसनका एक पोर्टरलाई उद्धृत गर्दै ‘टाइम्स अफ इन्डिया’ले लेखेको छ ।
प्रयागराजका लागि छुटेको विशेष रेलको प्लेटफर्म एकाएक सारिएपछि मानिसहरु आपसमा ठोक्किन थाले र एस्केलेटर र सिँढीमा खसेका थिए। रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारणबारे उच्चस्तरीय छानबिनको आदेश दिइएको बताएका छन ।
वैष्णवका अनुसार भक्तजनको भीड हटाउन नयाँ दिल्लीबाट थप विशेष रेल सञ्चालन भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडबाट आफू मर्माहत भएको बताएका छन ।
“शोकको यस घडीमा म आफ्ना प्रियजनहरू गुमाएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्छु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” उनले लेखेका छन ।
राजधानी क्षेत्र दिल्लीका गभर्नर विनयकुमार सक्सेनाले विपद् व्यवस्थापनका कर्मचारीलाई तैनाथ गर्न भनिएको र सबै अस्पतालहरू सम्बन्धित आपतकालीन अवस्थालाई सम्बोधन गर्न तयार रहेको बताएका छन ।
छ हप्तासम्म चल्ने महाकुम्भ मेला हिन्दू धार्मिक क्यालेन्डरको सबैभन्दा महत्त्वपूर्णमध्येको पर्व हो । अधिकारीहरूले गत महिना देखि नै करिब ५० करोड भक्तजनले यस पर्वको अवलोकन गरिसकेको बताएका छन् ।
थर्ड पोल 