नाउपाले समर्थन फिर्ता लिएको ३० दिन पुग्दै, विश्वासको मत लिने पक्षमा छैनन् प्रधानमन्त्री

नाउपाले समर्थन फिर्ता लिएको ३० दिन पुग्दै, विश्वासको मत लिने पक्षमा छैनन् प्रधानमन्त्री

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएको झण्डै एक महिना पुग्न लाग्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेका छैनन्।

गत असार २२ गते नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

साथै संसदको प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय गर्दै सिट व्यवस्थापन गरिदिन सभामुख देवराज घिमिरेलाई पत्र दिएको थियो।

नाउपाले सभामुखलाई पत्र दिएको आउँदो साउन २० गते ३० दिन पुग्दैछ।

संविधानको धारा १०० को उपधारा २ मा ‘सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने’ व्यवस्था छ।

तर प्रधानमन्त्री ओलीले भने विश्वासको मत लिने सुरसार देखाएका छैनन्।

उनी साउन १८ गते तुर्कमिनिस्तानको भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओली साउन २३ गते मात्र फर्कनेछन्। प्रधानमन्त्री फर्कदाँसम्म नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको ३० दिने समय नाघिसक्छ।